
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले आफुले ‘सफा नियत’ले चित्तल पालेको दाबी गरेका छन्। शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले घाइते चित्तललाई उपचार गरेर सुरक्षित खोरमा पालन गरिएको बताएका हुन्।

ओझाका अनुसार, पूर्व डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मौखिक जानकारी दिई नगरपालिकाभित्र चित्तललाई सुरक्षित रूपमा राखिएको हो। “कानुनी प्रक्रिया पूरा नभएको हुन सक्छ, तर हाम्रो उद्देश्य वन्यजन्तुप्रति समवेदना थियो,” उनले स्पष्ट पारे।

तर, डिभिजन वन कार्यालय कञ्चनपुरले भने कानुन उल्लङ्घनको आशङ्कामा छानबिन थालेको छ। कार्यालय प्रमुख रामविचारी ठाकुरका अनुसार, सब डिभिजन वन कार्यालय वाणीलाई यथार्थ विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

उनले जनाएअनुसार, नगरपालिकाले एक वर्षदेखि चित्तल पाल्दै आएको सूचना पाएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो।
































