
बैतडी — बैतडीको सिगास गाउँपालिका –६ मोरीबगरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको एक विकट मानिने यस क्षेत्रमा प्रहरीको उपस्थितिले स्थानीय जनजीवनमा नयाँ सुरक्षाको अनुभूति ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, साउन ११ गतेदेखि चौकी सञ्चालनमा आएको हो । सहायक प्रहरी निरीक्षकको कमान्डमा ८ जना सुरक्षाकर्मीको टोली स्थायी रूपमा मोरिबगरमा खटाइएको बताइएको छ ।
यो चौकी स्थापनाका लागि विगतदेखि गृह मन्त्रालय र जिल्ला सुरक्षा समिति हुँदै विभिन्न तहमा निरन्तर पहल गर्दै बिभिन्न समाजसेवी व्यक्तित्वहरुले पहल चालेका थिए । प्रहरी चौकी स्थापना भएसँगै सिगास अध्यक्ष हरि सिंह धामीले प्रहरी टोली बसिसकेको र केही दिनभित्र भव्य रूपमा चौकीको औपचारिक उद्घाटन गरिने जानकारी दिए ।


दुर्गम भू-भाग र अप्ठ्यारो भौगोलिक बनावट भएको सिगास–६ मा चौकी स्थापनाले चोरी, हिंसा, मदिरा दुरुपयोग जस्ता सामाजिक विकृतिहरू न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विपद् व्यवस्थापन, सूचना प्रवाह, उद्धार तथा राहत कार्यमा समेत अब सजिलो हुने जनाइएको छ ।
स्थानीय बासिन्दाहरूले प्रहरी चौकी स्थापनालाई ऐतिहासिक उपलब्धि भन्दै स्वागत गरेका छन् । उनीहरूले चौकी स्थायी बनाइ सेवा प्रवाहलाई थप व्यवस्थित गर्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।
गाउँपालिकाले चौकीको पूर्वाधार विकास र दीर्घकालीन सुदृढीकरणका लागि आवश्यक बजेट तथा स्रोत साधन जुटाउने तयारीसमेत गरिरहेको जनाएको छ ।
सिगास–६ मा स्थापना भएको प्रहरी चौकीले केवल शान्ति सुरक्षा मात्र होइन, राज्य र जनताको सम्बन्ध अझ नजिक बनाउने विश्वास स्थानीयवासीहरूले गरेका छन् ।




















