
बैतडी – बैतडीको सिगास गाउँपालिका – ५ मा सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम लाइ तीब्रता दिइएको छ । वडाभित्रका लाभग्राहीहरूलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयको समन्वयमा नविकरण कार्य सञ्चालन गरिएको हो।

साउन ६ गतेदेखि ८ गते सम्म शारदा माध्यमिक विद्यालय, सिगास–५ ढुंगाडमा पहिलो चरणको नविकरण कार्यक्रम सम्पन्न गरिएको र दोस्रो चरणमा साउन ९ गतेदेखि १३ गतेसम्म भुवनेश्वरी माध्यमिक विद्यालय, खैरकोटमा कार्यक्रम सञ्चालन गरिएको वडा नं. ५ का सहायक कम्प्युटर अपरेटर तिलक धामीले जानकारी दिनुभयो । दुर्गम गाउँमा सेवा लिन जान समस्या हुने वृद्ध, अपांगता भएका, एकल महिला र क्षेत्र तोकिएका बालबालिका लगायत अन्य सामाजिक सुरक्षा लाभग्राहीहरूलाई लक्षित गरेर नविकरण कार्यक्रम गाउँमै पु¥याइएको र हालसम्म ७० प्रतिशत सामाजिक सुरक्षा भत्ता नविकरणको कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
नविकरणका क्रममा सहभागी भएका लाभग्राहीहरूले सहज, व्यवस्थित र नागरिकमैत्री सेवा पाएको प्रतिक्रिया दिएका छन् । उक्त कार्यक्रममा विद्यालयहरूबाट पाइएको सहयोग उल्लेखनीय रहेको वडा कार्यालयले जनाएको छ ।


शारदा मा.वि. सिगास–५ ढुंगाड र भुवनेश्वरी मा.वि. खैरकोटलाई भौतिक सहयोगका लागि वडा कार्यालयले विशेष धन्यवाद दिएको छ । साथै, नविकरण अवधिमा खानपिन र आवास व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्नु भएका भुवनेश्वरी मा.वि.का प्रधानाध्यापक बीरेन्द्र सिंह धामी लाई गहिरो कृतज्ञता प्रकट गरेको छ।
सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकी रहेका लाभग्राहीहरूलाई भाद्र मसान्तसम्म वडा कार्यालयमा आवश्यक कागजातसहित स्वयम् उपस्थित भई नविकरण गराउन वडा कार्यालयले आग्रह गरेको छ। समयमै नविकरण नगरिएमा भत्ता प्रवाहमा समस्या आउन सक्ने हुँदा सबै लाभग्राहीहरूमा वडा कार्यालयले सामाजिक शुरक्षाभत्ता नवीकरण गर्न विशेष अनुरोध गरेको छ । समाजिक सुरक्षा भत्ता नविकरणको कार्य अन्य वडाहरूमा पनि भदौ मसान्तभित्रै गरिसक्ने गरि काम गरिरहेको वडा कार्यालयले बताएका छ ।
































