
दार्चुलाको प्रसिद्ध सुर्मा देवी जात्रा (बिरे जात) सुरु भएको छ। साउन शुक्ल दशमीबाट सुरु भई १७ दिनसम्म मनाइने यो जात्रा जिल्लाको अपीहिमाल गाउँपालिका–३ स्थित क्षेत्ति र घाजिर गाउँका लागि अत्यन्त महत्वपूर्ण सांस्कृतिक, धार्मिक तथा पर्यटकीय चाड हो।

प्रत्येक जोर वर्षमा विशेष रूपमा आयोजना हुने यो जात्रामा सहभागी बिरेहरूले एक छाक मात्र खाने, हरेक दिन दुई पटक नुहाउने, खाली खुट्टा हिँड्ने र रुद्राक्ष माला लगाउने अनुशासन पालना गर्छन्। बिरेहरू विशेष पहिरनमा, शंख बजाउँदै क्षेत्तिबाट २४ किलोमिटर पैदल हिँडेर बझाङस्थित सुर्मा सरोवर पुग्छन्।
पहिलो पटक जानेलाई ‘बालोबिरे’ र पहिल्यै गइसकेका बिरेलाई ‘बुढोबिरे’ भनिन्छ। सुर्मासरोवरमा देवीको पूजा गरी माटोलाई प्रसादस्वरूप ल्याइन्छ।


बिरेहरू करिब पाँच हजार मिटरको दुबै पास हुँदै ‘बिरे ओडार’मा बसी, दोस्रो दिन सरोवर पुग्छन् र तेस्रो दिन फर्किन्छन्। जात्राको समापन क्षेत्ति–घाजिर गाउँमा देउडा, मागल र फाग गाउँदै रमाइलो गर्दै गरिन्छ, जसलाई ‘रतेडी’ भनिन्छ।
करीब ११औँ शताब्दीदेखि निरन्तर चल्दै आएको यो जात्रा नेपालकै मौलिक परम्पराको प्रतीक हो।





























