बैतडीको दुर्लभ सहस्त्रलिङ्ग धाममा साउन २६ गते विशेष मेला, रुद्राभिषेकसहित विशेष पूजा आयोजना

Image
Nisarga Hospital

बैतडीः नेपालकै दुर्लभ र ऐतिहासिक धार्मिक स्थल श्री सहस्त्रलिङ्ग धाममा यस वर्ष साउन २६ गते (सोमबार) विशेष मेला लाग्ने भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित यस धाममा साउन महिनाको अन्तिम सोमबार विशेष पूजाआजा तथा रुद्राभिषेकसहितको धार्मिक कार्यक्रम आयोजना गरिने छ।

CP Hospital Dhangadhi

सहस्त्रलिङ्ग धाम हिन्दु धर्मावलम्बीका लागि धार्मिक, पौराणिक, पुरातात्त्विक र सांस्कृतिक महत्व बोकेको स्थलका रूपमा चिनिन्छ। यहाँ साउन महिनाभर दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। स्थानीय समाजसेवी वीरबहादुर चन्दका अनुसार, यसै विश्वासका कारण साउनभरि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ।

धामका पुजारीका अनुसार, रुद्राभिषेक तथा शिव पूजाआजा गर्नाले चिताएको फल प्राप्त हुने जनविश्वास रहेको छ।

nawajiwan

कलात्मक संरचना

देवलहाट गाउँको शिव कुण्ड कुवा माथि अवस्थित यो शिवलिङ्ग विशिष्ट कलात्मक र पुरातात्त्विक ढाँचामा निर्माण गरिएको छ। लिङ्गको भाग ५० सेन्टिमिटर लामो छ भने पीठिकादेखि माथिसम्मको लम्बाइ २६० सेन्टिमिटर रहेको छ।
यस लिङ्गमा तेर्सो पंक्तिमा १५ वटा साना लिङ्गहरू कुँदिएका छन्, जुन भगवान शिवका १०८ स्वरूपका प्रतीक हुन् भन्ने मान्यता छ।

ऐतिहासिकता र संरक्षणको अभाव
शिवलिङ्गको स्थापना कहिले र कसले गर्‍यो भन्ने यकिन प्रमाण फेला परेको छैन। प्रारम्भमा यो लिङ्ग आसपास रहेका सातवटा देवलहरूमध्ये कुनै एकमा स्थापित गरिएको हुनसक्ने अनुमान छ।
धेरै धार्मिक र पुरातात्त्विक महत्व बोकेको भए पनि सहस्त्रलिङ्ग धाम सरकारी उपेक्षामा परेको स्थानीयको गुनासो छ। संरक्षणका लागि न स्थानीय सरकार न त प्रदेश सरकारले चासो देखाएको अवस्था छ।

Attariya Hospital

सङ्ग्रहालय, पुस्तकालय, गुरुकुल विद्यालय निर्माण र देवलहाटसम्म स्तरीय सडकको आवश्यकता भए पनि योजनागत पहल भएको छैन।

पर्यटन प्रवर्द्धनको अपार सम्भावना
प्रचारप्रसारको अभावले गर्दा बाह्य पर्यटकको उपस्थिति न्यून रहेको स्थानीय हरिदत्त भट्ट बताउँछन्।
यदि यहाँको बस्तीलाई होमस्टे प्रविधिबाट विकास गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने स्थानीयको अपेक्षा छ।

भारतको पिथौरागढलगायत नेपालका विभिन्न भागबाट समेत श्रद्धालु यहाँ दर्शनका लागि आउने गरेका छन्।

📿 विशेष निमन्त्रणा
२०८२ साल साउन २६ गते सोमबार बिहान ८ बजे, पीपलको रुख र शिव कुण्ड नजिक रुद्राभिषेक पूजाआजाको आयोजना गरिएको छ।
समस्त श्रद्धालु भक्तजनलाई धार्मिक समारोहमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिन्छ।

(यो समाचारका लागि सम्पूर्ण जानकारी सुदूरपश्चिम खबरलाई स्थानीय उद्धव सिंहले उपलब्ध गराउनु भएको हो।)