
बाजुरा: बाजुराको प्रमुख धार्मिकस्थल बडिमालिकाको विशेष पूजाको अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र बडिमालिका नगरपालिका–१ का वडाध्यक्ष अर्जुन नाथको समन्वयमा उक्त टोलीले यात्रा आरम्भ गरेको हो।

बडिमालिका दर्शनका लागि जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक सलामी अर्पण गर्दै बिदाइ गरेका थिए। टोलीले चार दिनको पैदलयात्रापछि साउन २३ गते चतुर्दशीका दिन बडिमालिका मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ।

देशभरका भक्तजन र पर्यटक यस पवित्र अवसरमा बडिमालिका र बुढिनन्दा क्षेत्रतर्फ प्रस्थान गरिरहेका छन्। मेलामा सहभागी हुन श्रद्धालुहरू केही दिन अघिदेखि नै यात्रा थालेका छन्। बडिमालिका पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष अघिल्ला वर्षहरूभन्दा धेरै श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा गरिएको उपप्रमुख नन्दा थापाले जानकारी दिइन्।

बडिमालिका र बुढिनन्दा तीर्थस्थलहरू धार्मिक मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा समेत महत्वपूर्ण मानिने स्थानीय गोपाल थापाले बताए।

















