
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको अवधिमा १०६ किलोमिटर सडक कालोपत्र गरेको दाबी गरेको छ।

मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले हालै सार्वजनिक गरेको विवरण उल्लेख गर्दै १०६ किमी कालोपत्र, १०३ किमी ग्राभेल र १४६ किमी कच्ची गरी कुल ३५५ किलोमिटर सडक निर्माण सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार सो अवधिमा भूमिगत र आधुनिक प्रविधिमा आधारित सिँचाइ प्रणालीमार्फत १,६२८ हेक्टर जमिनमा सिँचाइ सुविधा थपिएको छ। त्यस्तै, मर्मत र पुनःसंरचनाबाट १३,९४७ हेक्टर जमिनको सिँचाइ सुविधा पुनःस्थापना गरिएको उल्लेख छ।


प्रदेश सरकारले बाढीबाट बस्ती तथा खेतियोग्य जमिन जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ। नदी उकासमार्फत २७ हेक्टर जमिन पुनःप्राप्त गरिएको जानकारी पनि मुख्यमन्त्री शाहले दिए।
खानेपानी क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको दाबी गरिएको छ। ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २,१३३ किलोमिटर पाइपलाइन विस्तार र ११,९३९ वटा निजी धारा जडान सम्पन्न भएको विवरणमा उल्लेख छ।
































