
बैतडी – भारत स्थित धौलीगंगा जलविद्युत् परियोजनामा साउन २० गते बिहान ६:०० बजेपछि सिल्ट सफाइको काम हुने जानकारी प्राप्त भएसँगै जिल्ला प्रशासन कार्यालय बैतडीले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

उक्त कार्यको क्रममा परियोजनाको ढोका खोलिने जनाइएकोले त्यसको असर स्वरूप बैतडीस्थित महाकाली नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, बैतडीले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी साउन २० र २१ गते सम्म नदी आसपास तथा तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नदी किनार नजिक बसोबास गर्ने बासिन्दाहरू तथा तटीय क्षेत्रमा कृषि, निर्माण, वा अन्य कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सतर्कता नअपनाउँदा जनधनको क्षति हुन सक्ने भन्दै सम्बन्धित सबैलाई समयमै सुरक्षित स्थानमा सर्न र नदीको बहाव बारे स्थानीय प्रशासन वा सुरक्षाकर्मी मार्फत जानकारी लिँदै सचेत रहन अपिल गरेको छ।































