
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गणेश बहादुर कठायत ‘काजी’ मनोनीत भएका छन्। प्रदेश कार्यसमितिको कार्यालय, कैलालीले एक विज्ञप्ति जारी गर्दै कठायतलाई विभागीय सदस्यमा मनोनीत गरिएको जानकारी दिएको हो।

कठायत गोदावरी नगरपालिका–१०, कैलाली निवासी हुन्। पार्टीको विधानको धारा १३, उपधारा (१) बमोजिम प्रदेश सभापति बीर बहादुर बलायरको अध्यक्षतामा बसेको बैठकले धनराज पण्डितको संयोजकत्वमा रहेको विभागमा कठायतलाई सदस्यका रूपमा चयन गरेको हो।

सभापति बलायरद्वारा जारी बधाई सन्देशमा भनिएको छ, “नेपाली कांग्रेसलाई थप मजबुत, सुदृढ र गतिशील बनाउने कार्यमा तपाईंको महत्वपूर्ण योगदान रहने विश्वास लिएको छु।”

मनोनयनप्रति पार्टी नेता कार्यकर्ताहरूले कठायतलाई शुभकामना एवं सफल कार्यकालको बधाई दिइरहेका छन्।

















