
धनगढी: आठ वर्षअघि ठेक्का भए पनि कैलालीको शिवगङ्गा नदीमा अझै पुल निर्माण सुरु नहुँदा स्थानीयवासीसहित तीर्थयात्रीहरू वर्षौंदेखि सास्ती खेप्न बाध्य भएका छन्।

धनगढी उपमहानगरपालिका–१७ को पथरीस्थित शिवगङ्गा नदीमा पुल निर्माणका लागि २०७४ साल असार २७ गते ठेक्का सम्झौता भएको थियो। २०७७ साल असार २५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पप्पु एडभेञ्चर जेभीलाई जिम्मा दिइएको थियो। तर, ठेक्का सम्झौतामा आठ वर्ष पुग्न लाग्दा पनि पुलको फाउन्डेसनसम्म तयार पारिएको छैन।
स्थानीय राकेश चौधरीका अनुसार, ठेकेदारले आठ वर्षसम्म फाउन्डेसन खन्ने खाल्डोमात्रै खनेका थिए, जुन अहिले पूरिसकेको छ। “ठेकेदारलाई पुलको कुनै वास्ता छैन,” चौधरीले गुनासो गरे।

पुल निर्माणको नाममा अहिलेसम्म ३ करोड १३ लाख ७२ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। कुल १४ करोड २६ लाख लागतमा बन्ने १६० मिटर लामो पुल संघीय सरकारको लगानीमा निर्माण हुने भनिएको थियो।

तर, निर्माणस्थलमै फाउन्डेसन नै नभेटिएकोले अब सोही ठाउँमा पुल सम्भव नभएको सडक डिभिजन कार्यालय, महेन्द्रनगर का प्रमुख राजेशकुमार यादवले बताए। “त्यो ठाउँमा फाउन्डेसन भेटिएन, त्यसैले हामीले नयाँ स्थानमा २५-५० मिटर सरेर पुल बनाउने गरी नयाँ डिजाइन माग गरेका छौं,” प्रमुख यादवले जानकारी दिए।
उनका अनुसार, निर्माण कम्पनीले पहिलेको स्थानमै पुल बनाउन पाउनुपर्ने माग गर्दै मुद्दामामिला गर्न खोजिरहेको छ। “अब पहिलेको डिजाइनमा पुल बन्दैन,” उनले स्पष्ट पारे, “यदि नयाँ डिजाइन दिन मानेन भने ठेक्का रद्द गरेर अर्को ठेकेदारमार्फत काम अगाडि बढाउनेछौं।”
यसबाहेक, ठेक्का परेको सोही वडाको खुटिया नदीको पुल भने चार वर्षअघि नै निर्माण सम्पन्न भइसकेको छ।
पुल नबन्दा बेहडाबाबा मन्दिर जाने तीर्थयात्रीहरू र वडा नम्बर १६ को रामपुर, घसिटालगायत गाउँका बासिन्दाले दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ।

















