
सुदिप थापा/ धनगढी: निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र जनउत्तरदायी बनाउन सधैं अग्रपंक्तिमा रहने एक कर्मशील व्यक्ति हुन्, सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्ट । उनले निर्वाचनका समयमा देखाएको जोश, लगनशीलता र जिम्मेवारीपूर्ण कार्यशैलीले न केवल कर्मचारी तहमा प्रेरणा थपेको छ, बरु आम नागरिकको मनसमेत जितेको छ।

निर्वाचनका झिनोदेखि ठूला सबै पक्षमा ध्यान पु¥याउँदै उनले आफ्नो कर्तव्य निर्वाह गर्ने शैली नै फरक छ। कार्यालयका सहकर्मीहरू उनलाई ‘शान्त स्वभावका दृढ निर्णयकर्ता’ को रूपमा सम्झन्छन्। भट्टले विगतका निर्वाचनहरूमा देखाएको दक्षता र संयोजन क्षमताले निर्वाचन आयोगको भरपर्दो अनुहार बनाएका छन्।

तर, प्रेमराज भट्ट केवल निर्वाचन सम्पन्न गराउने व्यक्तिमात्र होइनन्। उनी निर्वाचन पद्धतिलाई जनसमुदायसम्म पु¥याउने, विशेषगरी युवा पुस्तालाई सचेत बनाउने अभियानमा समेत उतिकै सक्रिय छन्। पछिल्लो समय उनी विभिन्न विद्यालयमा पुगेर होस वा निर्वाचन कार्यालयमानै विध्यार्थीहरुलाई बोलाएर ’निर्वाचन शिक्षा’ सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
विद्यार्थीहरूले भोटिङ अधिकार, निर्वाचन प्रणाली, लोकतान्त्रिक अभ्यासजस्ता विषयहरूमा प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। उनलाई विद्यार्थीहरू मात्र होइन, शिक्षक तथा अभिभावकहरूले समेत असल शिक्षकको रूपमा लिएका छन्।

“निर्वाचन केवल एक दिनको प्रक्रिया होइन, यो दीर्घकालीन सोच र जिम्मेवारीको विषय हो,” भट्ट भन्छन्, “यसलाई बाल्यकालदेखि नै बुझ्न आवश्यक छ।”

उनको नेतृत्वमा सञ्चालन भइरहेका कार्यक्रमहरूले सुदूरपश्चिममा निर्वाचनप्रति नागरिकको विश्वास बढेको छ। शिक्षालयहरूमा पुगेर भविष्यका मतदातालाई सचेत बनाउने उनको प्रयासले देशैभरि अनुकरणीय उदाहरण पेश गरेको छ।
जनताको सेवा गर्ने सच्चा मनोवृत्ति, ज्ञान र समर्पणले भरिएको व्यक्तित्व हुन् प्रेमराज भट्ट — सुदूरपश्चिमको निर्वाचन ’हीरो’।





















