
कैलालीमा लागूऔषध कारोबार र सेवनमा संलग्न ७११ जना व्यक्ति गत आर्थिक वर्षमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७११ जना लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। तीमध्ये ४० जना महिला र ६७१ जना पुरुष रहेका छन्।
अघिल्लो वर्ष (२०८०/८१) मा ४४७ जना पक्राउ परेका थिए। जसमा २२ जना महिला र ४२५ जना पुरुष थिए। यस वर्ष पक्राउ पर्नेको संख्या ५९ प्रतिशतले बढेको हो।

सर्वाधिक प्रयोग ‘खैरो हिरोइन’, अधिकांश मुद्दा दोहोरिनेहरू
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, पक्राउ परेकामध्ये धेरैजसो खैरो हिरोइन प्रयोगकर्ता हुन्। “कतिपय व्यक्ति एकभन्दा बढी पटक पनि पक्राउ परेका छन्,” सिंहले बताए।
प्रहरीले सो अवधिमा ४६९ वटा मुद्दा दर्ता गरेको छ।
१५–२५ वर्ष उमेर समूह बढी संलग्न
तथ्याङ्क अनुसार लागूऔषध प्रयोग र कारोबारमा संलग्न हुने अधिकांश युवा वर्ग छन्।
१५–२५ वर्ष: ४४२ जना

२६–३५ वर्ष: २२५ जना
३६ वर्षभन्दा माथि: ४४ जना
यसले युवा पुस्ता लागूऔषधको सबैभन्दा संवेदनशील समूह भएको देखाउँछ।
मालाखेतीबाट मात्रै ८७ जना पक्राउ
इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) मार्फत मात्रै ८७ जना पक्राउ परेका छन्।
पुरुष: ८३ जना
महिला: ४ जना
इप्रका मालाखेतीका प्रमुख प्रनाउ रण बहादुर चन्दका अनुसार, यो संख्या जिल्लामा सबैभन्दा बढी हो।

















