
थलाकाँडा, बैतडी — सिगास गाउँपालिका वडा नं. ६ को वडा कार्यालय थलाकाँडाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि लाभग्राहीहरूलाई अनिवार्य रूपमा व्यक्तिगत रूपमा उपस्थित भई नविकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

वडा कार्यालयले श्रावण २१ गते सूचना जारी गर्दै भत्ता नविकरणका लागि अन्य व्यक्तिबाट प्रक्रिया अगाडि बढाउने परिपाटी हटाउँदै आफैँ आएर नविकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
वडा सचिव सुरेन्द्र सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “लाभग्राहीले आफैँ उपस्थित भई नविकरण गर्नु हुन अनुरोध छ । असक्त व्यक्तिका हकमा भने प्रमाणसहित प्रतिनिधि पठाउन सकिने व्यवस्था गरिएको छ।”


यस निर्णयको उद्देश्य भत्ता वितरण प्रणालीलाई अझ पारदर्शी, विश्वसनीय र हकदारमुखी बनाउनु रहेको वडा कार्यालयले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता नविकरण कार्य सिगास –६ वडा कार्यालयमै सञ्चालन हुनेछ । सेवा लिन आउने लाभग्राहीले आवश्यक कागजातहरू साथमा लिएर उपस्थित हुनुपर्ने वडा कार्यालयले जनाएको छ ।


















