
धनगढी: सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा करेण्ट लागेर ३३ जनाले ज्यान गुमाएका छन् भने ५१ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीका अनुसार साउन २०८१ देखि साउन २०८२ सम्मको तथ्याङ्कमा सबैभन्दा धेरै कैलालीमा २१ जनाको मृत्यु भएको छ। जसमध्ये ४ पुरुष, १३ महिला र ४ बालक रहेका छन्।
त्यस्तै, कञ्चनपुरमा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४ पुरुष, १ महिला र २ बालक छन्।
अछाममा १ पुरुष र १ महिला गरी २ जना, बैतडीमा १ महिला र १ बालक गरी २ जना तथा बाजुरामा १ पुरुषको मृत्यु भएको छ।


डोटी, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा भने करेण्ट लागेर कसैको मृत्यु भएको छैन।
घाइतेको संख्या ५१ पुग्यो
एकै वर्षमा करेण्ट लागेर ५१ जना घाइते भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा सबैभन्दा धेरै २० जना (९ पुरुष, ११ महिला) घाइते भएका छन्।
त्यस्तै कैलालीमा ८, अछाममा ६, बैतडीमा ७, डोटीमा ४, डडेल्धुरा, दार्चुला र बाजुरामा एक–एक जना घाइते भएका छन् भने बझाङमा घाइते हुनेको संख्या शून्य छ।
प्रदेशभर यसरी बारम्बार घट्ने करेण्ट घटनाले आमनागरिकको जीवन जोखिममा परेको भन्दै सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।































