
डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजीलाई जोड्ने चुरे क्षेत्रमा रहेको सडकको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ। करिब चार किलोमिटरको सडकखण्ड मर्मत नहुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।


जोगबुढाको अन्तिम पहाडी भाग न्वालीडाँडाबाट दैजी क्षेत्र देखिए पनि त्यहाँ पुग्नको लागि घन्टौँ यात्रा गर्नुपर्ने अवस्था छ। भिरालो चुरे पहाडमा हिलोले गाडीहरू फस्ने, यात्रुवाहक जिपहरू डोरीले तान्नुपर्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था छ। यस्तो जोखिमपूर्ण यात्राले दुर्घटनाको सम्भावना उच्च बनाएको छ।
जोगबुढाबाट दैजीको सिधा दूरी ८० किलोमिटर भए पनि वैकल्पिक मार्ग बुडर–अत्तरिया हुँदै जानु परे १३५ किलोमिटर पार गर्नुपर्ने बाध्यता छ। त्यसैले यात्रुहरू छोटो तर जोखिमयुक्त यही चुरे मार्ग प्रयोग गर्न बाध्य छन्।
३० करोड बजेट फिर्ता, जिम्मेवारीको झमेलामा काम अघि बढेन
दैजी–जोगबुढा–डडेलधुरा सडक सुदूरपश्चिम प्रदेशको गौरवको योजना हो। संघीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा यस सडकका लागि ३० करोड रुपैयाँ विनियोजन गरे पनि बजेट कार्यान्वयन नहुँदा रकम फिर्ता भएको छ।
सडक डिभिजन कार्यालय कुलपातेका प्रमुख रमेश भट्टराईका अनुसार, कञ्चनपुर डिभिजनलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्दा बजेट फिर्ता भएको हो। यता, प्रदेश सरकारले सडकलाई गौरवको योजना घोषणा गरिसकेको हुँदा संघीय तहमा काम गर्ने अधिकार सीमित बनेको छ।
चीनसँग जोड्ने दीर्घकालीन योजना
दैजी–गाईबाँधे–जोगबुढा–सलोन–चिकिट्टे–आइत–कीर्तिपुर–पोखरा–बेलापुर मार्ग हुँदै बझाङसम्म विस्तार गरी चीनसँग जोड्ने योजना प्रदेश सरकारको रहेको छ।
हाल दैजी–बेतकोट खण्ड र जोगबुढा–गाईबाँधे खण्ड कालोपत्रे भइसकेका छन्। गाईबाँधे–न्वाली खण्डमा पनि कालोपत्रको काम हुँदैछ। तर, दुईतर्फबाट दुई फरक टेन्डरमार्फत काम भए पनि समयमै काम सम्पन्न हुन सकेको छैन।



















