
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा स्थायी नियन्त्रण गर्ने प्रस्ताव अघि सारेपछि हमासले कडा चेतावनी दिएको छ।
नेतान्याहुले फक्स न्युजसँगको अन्तर्वार्तामा आफ्नो योजना सार्वजनिक गरेपछि हमासले प्रतिक्रिया जनाउँदै बाँकी रहेका बन्दीहरूको बारेमा उनले सोच्नै नचाहेको आरोप लगायो।

संयुक्त राष्ट्र संघले पनि नेतान्याहुको योजना अघि बढाउनु अहिले रहेका बन्दीहरूको जीवनका लागि ठूलो जोखिम हुने ठहर गरेको छ। यसैगरी, इजरायलका लागि बेलायती राजदूतले यस्तो कदम ‘ठूलो गल्ती’ हुने चेतावनी दिएका छन्।
अमेरिकी राजदूत माइक हुकाबेले सिबिसीसँगको अन्तर्वार्तामा गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउन नहुने स्पष्ट धारणा राखेका छन्।


इजरायली सञ्चार माध्यमका अनुसार नेतान्याहुले गाजा खाली गर्ने योजना बनाइरहेका छन् र हमासलाई पूर्णरूपमा समाप्त गर्नु बाहेक अर्को विकल्प नदेखेका छन्।
हमासले भने बिहीबार विज्ञप्ति जारी गर्दै नेतान्याहुको प्रस्ताव नरसंहारलाई निरन्तरता दिने उद्देश्यको प्रमाण भएको दाबी गरेको छ। हाल इजरायली सेनाले गाजाको झन्डै तीन-चौथाइ क्षेत्र कब्जा गरिसकेको बताइएको छ।





























