
अत्तरिया : कैलालीमा दुईवटा अटो एकापसमा ठोक्किदाँ एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ स्थित भित्री सडक खण्डमा अटो दुर्घटना भएको हो ।

अत्तरिया देखि कञ्चनपुर तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का खुशिराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ३६६२ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको चालक कृष्णपुर नगरपालिका–७ बस्ने नन्दराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश १–००१ ह ५८३४ नम्बरको अटो एकापसमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

उत्त दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५८३४ नम्बरको अटोमा सवार कृष्णपुर नगरपालिका–७ बस्ने ६५बर्षीया मनसिंहा राना घाइते भएकी थिइन्। घाइते मनसिंहाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।

दुबै अटोमा सवार ८ जना मध्ये घाइते ६ जना उपचार पछि डिस्चार्ज भइसकेका र एक जनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




























