
अत्तरिया : परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा साउन २८ गते धनगढी विभिन्न कार्यक्रमका लागि आउने भएकी छन् । परराष्ट्रमन्त्री देउवा ३ दिन धनगढीमै विभिन्न कार्यक्रममा सहभागि हुने तालिका रहेको छ । साउन २८ गते धनगढीमा हुने नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवा प्रमुख अतिथि रहने छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिअन्तर्गतको किसान महासंघको यो पहिलो प्रदेशस्तरीय अधिवेशन हो, जसमा पार्टीका विभिन्न तहका नेताहरु, कार्यकर्ताहरु तथा किसान प्रतिनिधिहरुको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । अधिवेशनले किसान महासंघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा किसान अधिकारसम्बन्धी नीतिगत धारणा तय गर्नेछ ।

कार्यक्रम दिउँसो २ बजे धनगढीस्थित होटल रुवसमा आयोजना हुने तय भएको छ । अधिवेशनमा प्रदेशभरका किसान महासंघका पदाधिकारी, स्थानीय नेताहरु र कांग्रेस कार्यकर्ताको उपस्थिति रहनेछ । कार्यक्रमबारे जानकारी दिँदै नेपाली कांग्रेसका क्षेत्रीय सभापति भीम पडालले भने, “यो अधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र होइन, सुदूरपश्चिमका किसानको हकहितको पक्षमा प्रभावकारी कदम चाल्ने ऐतिहासिक अवसर पनि हो ।

डा. आरजु राणा देउवा जस्तो राष्ट्रिय नेतृको प्रमुख आतिथ्यले कार्यक्रमको गरिमा अझ बढाउनेछ ।” आयोजकले नेपाली कांग्रेस आवद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई समयमा उपस्थित भई अधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन् ।

















