
धनगढीः धनगढी उपमहानगरपालिका–५ नं. वडा कार्यालयले ‘हरियो वडा अभियान’ सुरु गरेको छ। अभियानको सुरुआतबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरिएको हो।

वडा अध्यक्ष गजेन्द्र शाहीका अनुसार, अभियान अन्तर्गत एकै दिन १५ हजार बिरुवा रोप्ने लक्ष्य लिइएको छ। आगामी वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहने र उहाँले पनि प्रत्यक्ष सहभागिता जनाउने उनले बताए।

अभियानमा प्रत्येक घरमा दुईवटा बिरुवा वितरण गरिनेछ। तीमध्ये एक मोरङ्गा (सजिवन) र अर्को उन्नत जातको आँपको बिरुवा हुने अध्यक्ष शाहीले जानकारी दिए।

उनका अनुसार, ‘हरियो वडा अभियान’को उद्देश्य वातावरण संरक्षणसँगै वडालाई हराभरा र सौन्दर्यपूर्ण बनाउनु हो।




















