
अछामः अछामको साँफेबगर नगरपालिका–७ स्थित बयालपाटा अस्पताललाई भदौ १ गतेदेखि प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारले कानुनी पूर्वाधार तयार गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२’ जारी गर्दै अस्पतालको स्वामित्व ग्रहण गरिसकेको छ। नेपाल सरकारबाट स्वीकृति पाएपछि यसलाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार साउन मसान्तसम्म आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा सुरु गरिनेछ। अस्पताललाई गुणस्तरीय, प्रभावकारी र सहज पहुँचयुक्त बनाउन कार्यकारी निर्देशकको नेतृत्वमा सञ्चालन गरिने व्यवस्था गरिएको छ। कार्यकारी निर्देशक स्वास्थ्य क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित चिकित्साशास्त्रमा स्नातकोत्तर भएकामध्ये प्रदेश मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ। पदावधि तीन वर्षको हुनेछ।


स्वीकृत संरचना र दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक तथा अन्य जनशक्ति रहनेछन्। स्थायी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग जिम्मेवार रहनेछ भने अस्थायी रूपमा करारमार्फत जनशक्ति भर्ना गर्न सकिने व्यवस्था छ।
अस्पतालको व्यवस्थापनका लागि स्थानीय तहका प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला रेडक्रस प्रमुख र तीन जना मनोनीत सदस्यसहितको समिति रहनेछ। कार्यकारी निर्देशक समितिका सदस्य–सचिव हुनेछन्।
प्रदेश सरकारले आवश्यक बजेट उपलब्ध गराउने र व्यवस्थापन समितिले अस्पतालको सेवा सञ्चालनमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने जनाएको छ।

















