
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा बालमैत्री स्थानीय शासन, मौलिक हक, र नागरिक सहभागिता नीतिसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


निड्स नेपालको आयोजनामा र गोदावरी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको सहकार्य रहेको थियो। कार्यक्रममा बालमैत्री स्थानीय शासनका सूचकहरू, मौलिक अधिकारको सुनिश्चितता, तथा बालबालिकाप्रति उत्तरदायी स्थानीय शासन प्रवर्द्धनका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। साथै, बालमैत्री स्थानीय शासनसम्बन्धी नगर समिति पनि गठन गरिएको छ।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उप–प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, निड्स नेपालका प्रोग्राम म्यानेजर मिन बहादुर शाही लगायत गोदावरी नगरपालिकाका विभिन्न शाखा प्रमुख, वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यपालिका सदस्य, विद्यालय प्रधानाध्यापक, मालाखेती इलाका प्रहरी कार्यालयका प्रमुख रणबहादुर चन्द, महिला तथा बालबालिका सेफ हाउसकी सञ्चालिका जानकी मलाशी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उप–प्रमुख रोकायाले बालमैत्री स्थानीय शासन कार्यान्वयन नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै यसका सूचकहरूलाई व्यवहारमा उतार्न सबैको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राखिन्।































