
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच आगामी शुक्रबार (१५ अगस्ट) अलास्कामा ऐतिहासिक भेटवार्ता हुने भएको छ। यस भेटको मुख्य एजेन्डा युक्रेन युद्ध अन्त्यका उपायहरू रहनेछ।

अमेरिकी राष्ट्रपतिले युद्ध रोक्न रुसमाथि दबाब बढाएपछि दुवै पक्ष वार्तामा बस्न सहमत भएका हुन्। ट्रम्पले यसअघि नै धेरै विषयमा सहमतिको नजिक पुगेको संकेत दिँदै वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
अलास्का यस्ता उच्चस्तरीय वार्ताका लागि नयाँ होइन। सन् २०२१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले यही स्थानमा आफ्ना चिनियाँ समकक्षीसँग भेट गरेका थिए।


ट्रम्प पुनः राष्ट्रपति बनेपछि यस विषयमा कूटनीतिक सक्रियता तीव्र भएको छ। १२ फेब्रुअरीमा पुटिनसँग फोन वार्ता, १८ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र रुसी विदेशमन्त्री सर्जी लाबरोभबीच भेट, र १८ मार्चमा पुनः ट्रम्प–पुटिन टेलिफोन वार्ता भएका थिए। ११ अप्रिलमा अमेरिकी दूत स्टिभ विटकोफले पुटिनसँग प्रत्यक्ष भेट गरेका थिए भने १५ मेमा अमेरिकी कूटनीतिज्ञले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग संयुक्त छलफल गरेका थिए।
यसबीच, ६ अगस्टमा रुसी तेल खरिदका कारण अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत कर लगाउने निर्णय गरेको थियो, जसले अन्तर्राष्ट्रिय कूटनीतिक समीकरणलाई थप संवेदनशील बनाएको छ।































