
बाजुराको त्रिवेणी नगरपालिका–९ विष्णुपानी नजिक शुक्रबार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।

मृतक बर्दिया ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए। भिरबाट लडेर घाइते भएका घोडासैनीको साँझ उपचारकै क्रममा निधन भएको हो।

यसअघि बिहीबार राति सोही स्थानमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा करिब ७०० मिटर तल खोँचमा खसेर मृत्यु भएका थिए। ओझाको शव निकाल्न जिल्ला प्रशासनले तालिमप्राप्त सुरक्षाकर्मीको टोली पठाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जनाएका छन्।



















