
कैलाली कारागारमा हिजो राति भएको झडपमा एकजनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामा रहेको छ।

बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली घटनास्थलमा पुग्न खोज्दा कैदी बन्दीले रोक्दा प्रहरी टोली फर्किन बाध्य भयो। सुरक्षा निकायका प्रमुखहरू समेतसहित गएको टोली घटनास्थलसम्म पुग्न नसकेपछि जिल्ला प्रशासन कार्यालय कैलालीमा सुरक्षा समितिको बैठक बस्न पुग्यो। बैठकले घटनाको छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
घटनास्थलमा कैदी बन्दीहरूले ताला लगाएर थुनुवा कक्षको मुख्य ढोकामा ग्याँस सिलिन्डर राखेका छन् र भित्र प्रवेश गर्ने प्रयास गरे आगो लगाइदिने चेतावनी दिएका छन्।


यसबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि घटनास्थल पुगेको छ, तर उनीहरू पनि प्रवेश गर्न सकेका छैनन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, “हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ, घटनास्थलमा जान सकिएको छैन।”
प्रहरी र मानवअधिकार टोलीले घटनास्थलमा पुग्न नसक्दा वास्तविक अवस्था अझै बाहिर आउन सकेको छैन।

















