कैलालीमा कैदीहरुबीच झडप : १५ दिनभित्र विवरण पेस गर्न मानव अधिकार आयोगको निर्देशन

Image
Nisarga Hospital

अत्तरिया : राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले शनिबार जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो । साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि गरिएको प्रशासनिक तथा समन्वयात्मक पहलहरूको प्रतिवेदन माग गरिएको छ । कार्यालयले जिल्ला कारागार, कैलालीमा रहेका करिब ५९० जना कैदीबन्दीहरूको संयुक्त निवेदनपछि कारागारभित्रको अवस्था र मानव अधिकार उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगमा प्राप्त निवेदनमा कैदीबन्दीहरूले कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदार र नाइकेको छनौटमा अनियमिता, र रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख गरेका छन् ।

निवेदनमा विशेष गरी असार ३० को राति १० बजेतिर दुई वटा सरकारी सवारीसाधनसहित प्रशासन र प्रहरी टोलीको उपस्थितिमा स्थानान्तरणको प्रयास गरिएको घटनालाई उदाहरणस्वरूप उल्लेख गरिएको छ, जसलाई कैदीबन्दीहरूले धम्कीको रुपमा व्याख्या गरेका छन् ।