
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला कारागारमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै प्रशासनले हालैको घटनाको पुनरावृत्ति रोक्न आवश्यक कदम चालिएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका घटनाको पुनरावृत्ति रोकथामका लागि तथा कारागारमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम रहोस् भनी, विद्यमान सुरक्षा चुनौतीहरूको समीक्षा र मूल्याङ्कन गरी जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र कारागार विभागबीच आवश्यक समन्वय, सहयोग र थप प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ। यस सम्बन्धमा जिल्ला सुरक्षा समिति कैलाली पनि पूर्ण सतर्कताका साथ सम्बद्ध निकायलाई निर्देशन तथा सहयोग गरिरहेको छ।”
विज्ञप्तिमा कारागारभित्रको शान्ति–सुरक्षामा चुनौती देखिएकाले घटनाको यथार्थ र आवश्यक छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ।


यस्तै, गम्भीर घाइते कैदीबन्दीहरूलाई सम्बन्धित अस्पतालको सल्लाहमा सुविधा सम्पन्न अस्पतालसँग समन्वय गरी शीघ्र उपचारको व्यवस्था मिलाउने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ। सामान्य घाइते तथा अन्यत्र उपचार आवश्यक पर्ने कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कारागार विभागसँग पनि निरन्तर समन्वय भइरहेको जनाइएको छ।
गएराति कैदीबन्दीबीच भएको झडपमा ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदीबन्दी घाइते भएका थिए।

















