
धनगढी: चाडपर्व नजिकिँदै गरेका बेला यस क्षेत्रका सरोकारवालाहरूले नेपाली मौलिक कला सँस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।

नजिकिदै गरेको हिन्दू महिलाहरूको महान चाँड हरितालिका तीजको अवसर धनगढी उपमहानगरपालिका-३ स्थित शुभकामना टोल विकास समिति ले स धनगढी प्रज्ञा सदनको प्राङ्गणमा भएको तीज मिलन कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले हाम्रो नेपाली मौलिक कला सँस्कृति संरक्षणका लागि सबैले लाग्नुपर्ने बताए । समय क्रमसँगै सँस्कृतिमा विकृति पनि फैलिइरहेकाले त्यसलाई रोक्नुपर्ने धारणा राखे । उनले तीज पर्वलगायतका नाममा आउने उच्छृङ्खल गीतहरूलाई पनि बहिस्कार गर्नेपर्ने बताए । यहाँको कला सँस्कृति जगेर्नाका लागि प्रज्ञा प्रतिष्ठानले पनि काम गरिरहेको उनले प्रष्ट्याए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी वडा नम्बर ३ का वडाध्य राजबहादुर ऐरले सँस्कृति जगेर्नाका टोल विकास समितिले गरेको यो पहिलो र उत्कृष्ट कार्यक्रम भएको बताए ।
उनले कला संस्कृतिलाई जगेर्ना गर्नका लागि हुने कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । यश कार्यमा टोल विकास समिति पनि एकदम क्रियाशील रहेको भन्दै धन्यवाद व्यक्त गरे ।
टोल विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति दिर्घराज ओझाले विभिन्न टोलमा छरिएर रहेका महिलाहरूलाई सामूहिक रूपमा भेटघाट र तीजको महत्वबारे उजागर गर्न तीज मिलन कार्यक्रम गरिएको बताए ।
तीज पर्वको एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्वलाई मर्यादित र सभ्य तरिकाले बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । पछिल्लो समय तीज पर्वका नाममा फैलिएको विकृतिलाई हटाउनुपर्ने उनले बताए ।

टोलबासी महिला पुरुषहरू एकीकृत गरी नमुना टोल बनाउने उद्देश्य रहेको समेत उनले बताए । ‘विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यस्ता खाले कार्यक्रम पुन: पनि गर्नेछौं’ उनले भने, ‘यस्ता अभियानमा सबैको सहकार्य पनि हुन जरुरी छ ।’
कार्यक्रमका अन्य वक्ताहरूले पनि पछिल्लो समयमा देखिएको विकृतिलाई हटाउँदै मौलिक कला सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अवसरमा टोलका ८० वर्ष माथिका ११ जना वयोवृद्धलाई सम्मान गरिनुका साथै कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गर्ने ६ जना दातालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा धनगढी प्रज्ञा सदनका विद्यार्थीहरूको तीज नृत्य, टोलबासी महिलाहरूको नृत्यलगायत प्रस्तुति समेटिएको थियो ।
कार्यक्रममा टोलबासी, वडा नम्बर ३ का विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
टोल विकास समिति सदस्य पद्मा मडैले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कार्यसमिति सचिव
रुपराज रेग्मीले गरेका थिए ।

















