
कैलालीको धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलमा हालै बालबालिकालाई ललाई–फकाई कानमा लगाएको सुनको मुन्द्रा लुट्ने घटनाहरू बढ्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।

स्थानीयका अनुसार, लुटेराहरू बच्चासँग नजिक हुने बहानामा होटलमा चिया खाने, फलफूल वा अम्भा दिने, कानमा किरा छ भनेर जाँच्ने आदि तरिका अपनाइरहेका छन्। त्यसपछि एकान्तमा लगेर कानको मुन्द्रा वा बाला चोरी गर्ने गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी एवं प्रवक्ता राजकुमार सिंहले मौखिक रूपमा यस्ता घटनाबारे जानकारी आएको पुष्टि गरे। उनका अनुसार, चोरी गर्ने व्यक्तिहरूको पहिचान कठिन भएको छ, किनकि घटनास्थल आसपासमा सिसिटिभी क्यामरा छैन।


नैनादेवी टोल निवासी विष्णा साउँदले तीन दिनअघि आफ्ना ६ वर्षका छोरालाई अम्भा दिएर कानमा लगाएको सुनको मुन्द्रा चोरी भएको बताए। उनका अनुसार, पछिल्लो एक हप्तामै उक्त टोलका ७ जना बालबालिकाबाट कानको मुन्द्रा वा बाला चोरी भइसकेको छ।
स्थानीय पुष्पा धामीले घटना बढ्दै जाँदा अभिभावकहरू बालबालिकाबाट सुनका गरगहना निकालेर राख्न थालेको बताइन्। यद्यपि, समयमै जानकारी दिँदा पनि प्रहरीले चासो नदेखाएको स्थानीयहरूको आरोप छ।
आठ वर्षीया रितु सापकोटाको मुन्द्रा पनि सोही शैलीमा चोरी भएको थियो। सुरक्षा निकायको उपस्थिती मुख्य सडक क्षेत्रमा मात्र देखिए पनि भित्री गल्लीमा भने प्रहरीको गस्ती कमजोर भएको कारण चोरीका घटना बढेको स्थानीयको गुनासो छ।
मुख्य बजार र जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटरभन्दा कम दूरीमा रहेका नैनादेवी टोलमा दिनदहाडै यस्ता चोरीका घटना हुन थालेपछि स्थानीयले शान्ति–सुरक्षाको माग गरेका छन्।

















