
जिल्ला कारागार कैलालीको नयाँ प्रमुखमा जलान्धर भुसाल नियुक्त भएका छन्। कारागार व्यवस्था विभागले बिदामा रहेका जेलर बसन्त खत्रीको स्थानमा शनिबार भुसाललाई पठाएको हो। उनले बेलुकीबाट जिम्मेवारी सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

यसअघि नौबस्ता कारागार बाँकेका प्रमुख रहेका भुसाललाई विभागले शनिबार नै कैलाली पठाएको हो।

जिल्ला कारागार कैलालीमा शुक्रबार राति कैदीबन्दीबीचको झडपमा एकजनाको मृत्यु भएको थियो। घटनामा ४८ जना घाइते भएका छन्। गम्भीर घाइते एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एकजनाको सेती प्रादेशिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।

अधिकृत तहको कर्मचारी जेलर रहने कारागारमा पछिल्ला दिनमा खरिदार तहका कर्मचारीले निमित्त जिम्मेवारी सम्हाल्दै आएका थिए। गत २८ असारमा कैदीबन्दीबीच झडप भएपछि जेलर बसन्त खत्रीले नासु ज्ञानेन्द्र ओझालाई जिम्मेवारी दिँदै बिदामा गएका थिए। तर ओझाले पनि दुई दिनअघि मात्र खरिदार रामकुमार चौधरीलाई जिम्मा हस्तान्तरण गर्दै बिदा लिएका थिए।
शुक्रबारको घटनापछि विभागले शनिबार नै जिल्ला कारागार प्रमुख परिवर्तन गरेको हो।

















