
कैलाली जिल्ला कारागारमा शुक्रबार भएको हिंसात्मक घटनापछि ३६ घण्टासम्म कारागारको नियन्त्रण कैदीबन्दीकै हातमा रहेको छ। एकको मृत्यु र करिब ५० जना घाइते हुने यो घटनापछि स्थानीय प्रशासन परिस्थिति नियन्त्रणमा लिन नसकेको देखिएको छ।
घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा कब्जा गरेका छन्। यस बीच सुरक्षाकर्मी र कारागार प्रशासनका कर्मचारीलाई प्रवेश अनुमति नदिएको कारण भित्रको वास्तविक अवस्था बाहिर आउन सकेको छैन।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैदीबन्दीहरूले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा बाहेकका उच्च तहका सरकारी प्रतिनिधिलाई मात्र भेट्ने अडान लिएका छन्। उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गर्ने माग राखेका छन्।
प्रमुख जिल्ला अधिकारी हमालले सुरक्षाकर्मीलाई भित्र प्रवेश गर्न नपाएको पुष्टि गर्दै दिउँसो आयोगको टोलीसँगै कारागार निरीक्षणमा जाने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अहिले कैदीबन्दीका आफन्तहरू भेटघाट गर्न भित्र छिर्न पाएका छन्।
कैदीबन्दीहरूले विगतदेखि कारागारभित्रको सुरक्षाप्रति स्थानीय प्रशासन बेवास्ता गर्दै आएको आरोप लगाएका छन्। यसअघि साउन १४ गते ५९० कैदीबन्दीले मानव अधिकार आयोगमार्फत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार विभागलाई कारागारमा आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए। आयोगले त्यसबारे पत्राचार गरी आवश्यक सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको भए पनि समयमै कदम नचाल्दा शुक्रबारको घटना भएको आयोगको ठहर छ।


शुक्रबार ब्लक ‘ए’ मा रहेका कैदीबन्दीहरूको समूहले भित्तामा प्वाल पारेर ब्लक ‘बी’ मा रहेका कैदीमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो। आक्रमणमा परेर धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।
घाइतेमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। दुई जना सेती प्रादेशिक अस्पतालको आईसीयूमा छन्, भने अन्य घाइतेको कोरोना अस्पतालमा उपचार भइरहेको छ। एक सय ५० जनाको क्षमता भएको कैलाली कारागारमा हाल करिब ७ सय कैदीबन्दी राखिएको छ।
































