सम्झना भट्ट मृत्यु प्रकरणमा पतिकी दिदी पूजासहित चार जना नियन्त्रणमा

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई नियन्त्रणमा लिइएको हो।

CP Hospital Dhangadhi

प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) सागर बोहोराका अनुसार मृतकका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा यसअघि सम्झनाका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान भइरहेको छ। पक्राउ परेकी पूजा, पवनकी दिदी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइती पक्षले बुझाएको एक अडियोमा पूजाले पवनलाई सम्झनाको हत्या गर्न आदेश दिएको सुनिन्छ। अडियोमा “सम्झनालाई मारे पनि पाँच वर्ष मात्र सजाय हुन्छ, भाइ मारिदे” भन्ने शब्द प्रयोग भएको बताइएको छ। उक्त अडियोको सत्यता पुष्टि गर्न थप छानबिन भइरहेको प्र.ना.उ बोहोराले बताए।

nawajiwan
Attariya Hospital

शुक्रबार पूजालाई पक्राउ गरी ‘आत्महत्या गर्न दुरुत्साहन दिएको’ अभियोगमा मुद्दा दर्ता गरिएको छ। यसअघि मृतकका माइती पक्षले घटनाको योजनाकार पूजा भएको आरोप लगाउँदै उनलाई पक्राउ नगरिए शव नउठाउने अडान लिएका थिए।

पक्राउपछि माइती पक्षले शव उठाएर अन्त्येष्टि गरेको प्रहरीले जनाएको छ। सम्झनाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो।

साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२, सिंह पाल टोलस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन्। प्रहरीले कोठाको ढोका तोडेर उनको शव बाहिर निकालेको थियो।

मृतकका बुवा भोजराज भट्टका अनुसार प्रेम सम्बन्धका कारण गत फागुनमा सम्झना र पवनको विवाह भएको थियो। विवाहपछि दाइजोको निहुँमा श्रीमान् र उनका परिवारले शारीरिक तथा मानसिक यातना दिने गरेको उनको आरोप छ।

Advertize US