
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीमा दैनिक सयौं सर्वसाधारण राष्ट्रिय परिचयपत्र बनाउन आवेदन भर्न आउने गरे पनि छापेर आएका हजारौं कार्ड भने कार्यालयमै थन्किएका छन्।

असार मसान्तसम्म कार्यालयको परिचयपत्र व्यवस्थापन शाखामा २० हजार ७२५ राष्ट्रिय परिचयपत्र आइसकेका छन्। तर, तीमध्ये अहिलेसम्म मात्र ४ हजार ३१२ कार्ड सेवाग्राहीले बुझेका छन्।
जिल्ला प्रशासनको राष्ट्रिय परिचयपत्र शाखाका विवरण दर्ता अपरेटर मोहन लुहारका अनुसार आवेदन दर्ता गर्न दैनिक ७०–८० जना आउँछन्, तर कार्ड बुझ्न दिनमा पाँच–छ जना मात्र आउने गरेका छन्। “धेरैजसोले आवेदन भरेका छन्, तर बुझ्न आउँदैनन्,” उनले भने।

जिल्लाबाट हालसम्म १ लाख ३३ हजार ४ जनाको विवरण संकलन गरिएको छ। बैंक खाता खोल्दा र पेन्सन खाता नवीकरणमा मात्र कार्डको प्रतिलिपि अनिवार्य हुने भएकाले अन्य सेवामा नम्बर मात्र भए पनि काम चल्छ। यस कारण पनि धेरैले कार्ड बुझ्न ढिलाइ गर्ने गरेको लुहारको भनाइ छ।

शिवनाथ गाउँपालिका–३ का नरेन्द्र साउदले भने, “गाउँमै शिविरमा आवेदन दिएको थिएँ, कार्ड बुझ्न जिल्ला जान करिब दुई हजार भाडा पर्छ। अहिले आवश्यक परेपछि मात्र जाने सोच छ।”
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार कार्ड बुझ्दा पनि फाराम भर्दाको जस्तै बायोमेट्रिक प्रमाणीकरण गर्नुपर्ने भएकाले सेवाग्राही स्वयं उपस्थित हुनुपर्छ। मोबाइलमा कार्ड बुझ्न आउनु भन्ने सन्देश नपढ्दा पनि धेरैले कार्ड नबुझेको हुनसक्ने उनको अनुमान छ।
सरकारले सामाजिक सुरक्षा भत्ता र बालबालिकाको पोषण भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। तर, कार्ड नभए पनि नम्बर भएमा नवीकरण गर्न पाइने नियमले बुझ्ने संख्यामा कमी आएको छ।
कार्ड छापिएपछि सम्बन्धित व्यक्तिको मोबाइलमा बुझ्न आउनू भन्ने सन्देश पठाइन्छ। यद्यपि, जनशक्ति र उपकरण अभावका कारण स्थानीय तहमार्फत विवरण संकलन र वितरणमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।




















