
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ को प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। वर्षातको मौसमका बीच पनि निरन्तर काम भइरहेकाले तोकिएको समयमै भवन सम्पन्न हुने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले लामो समयदेखि आफ्नै भवनको आवश्यकता महसुस गर्दै आएका थिए। यसअघि निजी भवन भाडामा लिएर प्रशासनिक सेवा दिँदा समयमै सेवा प्रवाहमा समस्या हुने गरेको थियो। नयाँ भवन सम्पन्न भएपछि नागरिकले सहज, छिटो र प्रभावकारी रूपमा सेवा पाउनेछन्।

भवन निर्माणको जिम्मा श्री उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रा. लि. लाई दिइएको छ। चालू आर्थिक वर्ष ०८१/८२ मा यसका लागि भ्याटसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँ बजेट विनियोजन गरिएको छ। सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भवन निर्माणको अनुगमनका क्रममा भने, “वडा कार्यालयको आफ्नै भवन हुनु केवल भौतिक संरचना निर्माण मात्र होइन, यो स्थानीय शासनमा पारदर्शिता, जवाफदेहिता र जनताको विश्वासको आधार हो। निजी भवन भाडामा लिएर काम गर्दा सेवा प्रवाहमा बाधा पर्थ्यो, तर अब आफ्नै भवनबाट नागरिकले समयमै सेवा पाउनेछन्।

गोदावरी नगरपालिकामा यसै वर्ष वडा नं. ३, १० र १२ मा प्रशासनिक भवन निर्माण भइरहेको छ। हाल वडा नं. २ र ६ मात्र आफ्नै भवन नभएकाले आगामी दिनमा ती वडामा पनि भवन निर्माण अघि बढाइने बताएका छन ।
वर्षातमा समेत निर्माण कम्पनीले देखाएको प्रतिबद्धता र छिटोछरितो कामप्रति म विशेष धन्यवाद दिन चाहन्छु। यसले वडा स्तरमा मात्र होइन, सम्पूर्ण नगरको विकास कार्यान्वयनमा गति थप्नेछ।”
तेसै गरी वडा अध्यक्ष भीम बहादुर खड्काले भने, “हामीले यो भवनलाई आधुनिक सुविधा सम्पन्न कार्यालयको रूपमा निर्माण गर्दैछौं, जसले नागरिकलाई प्रशासनिक सेवा लिन सहज मात्र होइन, सरोकारवालासँग प्रत्यक्ष सम्पर्क गर्ने वातावरण पनि प्रदान गर्नेछ। निर्माण सुरु भएदेखि नै नियमित अनुगमन भइरहेको छ र सम्झौताअनुसार काम सुरु भएकोले तोकिएको समयमै सम्पन्न हुनेमा हामी पूर्ण विश्वस्त छौं। यो भवन वडा–१२ का लागि दीर्घकालीन सम्पत्ति बन्नेछ।”
सम्बन्धित समाचारः-
गोदावरी- १२ मा वडा कार्यालयको भवन निर्माण सुरु, नगरप्रमुख भट्टले गरे शिलान्यास



































