
अत्तरिया : तनावग्रस्त कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणना थालिएको छ । शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् । कारागार स्रोतका अनुसार, धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो ।
कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।


भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।
१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ ।
































