
“जहाँ इच्छा, त्यहाँ उपाय” भन्ने भनाइलाई व्यवहारमा उतार्दै गौरीगंगा नगरपालिका–६, बनबेहडा (कैलाली) का युवा महेश जोशी घरको छतमै आकर्षक कौसीखेती गर्दै चर्चामा छन्। पेशाले शिक्षक रहेका महेशले आफ्नो तीन तले घरको छतमा विभिन्न तरकारी तथा फूलको खेती गरेर वरिपरिका मानिसको ध्यान तानेका छन्।

बजारबाट ल्याइएका क्यारेटमा माटो र प्रांगारिक मल भरेर उनले सिमी, हरियो साग, बोडी, सम्दिनी साग लगायतका बोटहरू लगाएका छन्। दोस्रो तलामा फूलको बगैंचा सजाएर घरलाई हरियालीमय बनाएका महेशले प्रांगारिक मल र गड्यौला मल पनि आफ्नै घरमा उत्पादन गर्न थालेका छन्।


तरकारी खेती सुरु भएपछि महेशको दिनचर्या बद्लिएको छ। बिहान–साँझ छतमा बसेर करेसाबारीमा व्यस्त रहने उनी वरिपरि चिया गफमा रमाउनेको सट्टा समयको सदुपयोग गर्दै तरकारी खेती गर्न सबैलाई सल्लाह दिन्छन्। उनका अनुसार, कौसीखेतीले न केवल फुर्सदको सदुपयोग हुन्छ, बरु स्वास्थ्य र आम्दानी दुवैमा मद्दत पुग्छ।
महेश भन्छन्, “जग्गा नहुँदा पनि छतमा तरकारी फलाउन सकिन्छ। अब यो कार्यलाई ब्रान्ड बनाएर विस्तार गर्ने सोचमा छु।” उनको यो पहलबाट प्रभावित भएर टोलका धेरै युवा र महिलाहरूले आफ्ना छत, कौसी र बरन्डालाई करेसाबारीका रूपमा उपयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
कुहिने घरायसी फोहोर व्यवस्थापन गरेर आवश्यक प्रांगारिक मल तयार गर्ने र कौसीखेती सम्बन्धी तालिम दिने योजना पनि महेशको छ। “हरेक घरको छतमा तरकारी फलाउने हो भने आयात हुने विषादीयुक्त तरकारीको मात्रा घटाउन सकिन्छ,” उनी जोड दिन्छन्।
































