कञ्चनपुरको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन्। पुरुषका लागि १४० र महिलाका लागि २० जनाको क्षमता भए पनि हाल ४४३ जना पुरुष र २७ जना महिला कैदीबन्दी रहेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

आइतबार जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी र मानवअधिकारकर्मीको टोलीले कारागार निरीक्षण गर्दा जीर्ण भवनमा ठाँसठाँसकै कैदीबन्दी भेटिएको हो। बोहराले भवनको प्लास्टर भत्किएको, शौचालयको अभाव र मर्मतको आवश्यकता रहेको बताए। भूकम्पका बेला जीर्ण भवन जोखिमपूर्ण हुने भएकाले तत्काल मर्मत आवश्यक रहेको उनको भनाइ छ।

बोहराका अनुसार चालु आर्थिक वर्षमा प्रदेश र संघीय सरकारबाट ३०–४० लाख रुपैयाँ बजेट विनियोजन भएकाले शौचालयलगायत पूर्वाधार निर्माणमा सहयोग पुग्नेछ। निरीक्षणका क्रममा कैदीबन्दीहरूसँग मानवअधिकार सम्बन्धी गुनासो सुन्दा कसैबाट पनि उल्लंघन भएको जानकारी नआएको उनले बताए।

जिल्ला कारागारका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार सबैभन्दा बढी १७६ जना लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन्। त्यस्तै, कर्तव्य ज्यानमा ५६ जना, मानव बेचबिखनमा १९ जना, जबरजस्ती करणीमा ९९ जना, चोरीमा ६७ जना, ज्यान मार्ने उद्योगमा ७ जना, सार्वजनिक अपराधमा ६ जना, ठगीमा ३ जना, बैंकिङ कसुरमा ७ जना, सवारी ज्यानमा ८ जना, वन्यजन्तु मुद्दामा १ जना, बहुविवाहमा ११ जना र अन्य मुद्दामा ७ जना कैदीबन्दी रहेका छन्।

जोशीले क्षमता भन्दा बढी कैदीबन्दीका लागि पाल र टिनको अस्थायी व्यवस्था गरिएको बताउँदै पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था नभएको उल्लेख गरे।

अनुगमनका क्रममा कैदीबन्दीहरूले बस्ने व्यवस्थामा सुधार, जीर्ण भवनको स्थानमा नयाँ संरचना निर्माण, उपचार खर्च सरकारले उपलब्ध गराउने व्यवस्था, र सिधा खर्च बढाउनुपर्ने माग राखेका थिए।

अनुगमन टोलीमा प्रमुख बोहरा, समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, पत्रकार महासंघका अध्यक्ष सुरेश धामी र मानवअधिकारकर्मी भगवती थापा सहभागी थिए।