
सामाजिक कथावस्तुमा आधारित नेपाली फिल्म मोहर ले प्रदर्शनको तीन दिनमै बक्सअफिसमा १ करोड १ लाख ६४ हजार ३३० रुपैयाँ ग्रस कमाइ गरेको छ।


शनिबारको जनैपूर्णिमा र आइतबारको गाईजात्रा बिदाले फिल्मको कमाइमा सकारात्मक प्रभाव पारेको छ। ओम प्रतीक निर्देशित यस फिल्ममा सुदूरपश्चिमको देउकी प्रथाको कथा प्रस्तुत गरिएको छ। पल शाह, नीति शाह, बेनिशा हमाल र अर्जुनजंग शाहीको अभिनय रहेको छ।
शुक्रबार नै सौगात मल्ल अभिनीत अर्को नेपाली फिल्म सिटामोल पनि रिलिज भएको थियो। चलचित्र विकास बोर्डले असोज १५ गतेदेखि सुरु गरेको ‘सिनेपाः’ नामक रियल टाइम बक्सअफिस प्रणालीमार्फत कमाइको तथ्यांक सार्वजनिक भएको हो।


















