कैलाली कारागार हिंसा : मृतक चौधरीको शव आफन्तलाई बुझाइयो, छोरीको निःशुल्क शिक्षा र दोषीमाथि कारबाहीको प्रतिबद्धता

Image
CP Hospital Dhangadhi

कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालसहितको छलफलमा माग सम्बोधनको आश्वासन पाएपछि आफन्त शव बुझ्न राजी भएका हुन्।

मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी तत्काल कानुनी कारबाही गर्नुपर्ने र १५ वर्षीया छोरीलाई सरकारको जिम्मेवारीमा निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने माग राखेका थिए। सीडीओ हमालले यी माग सम्बोधन हुने प्रतिबद्धता जनाएपछि शव बुझिएको मृतकका भाइ विजय चौधरीले बताए।

nawajiwan

छलफलपछि मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन्। प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाका अनुसार जाहेरी दर्ता भइसकेको र घटनाबारे अनुसन्धान अघि बढेको छ। पोस्टमार्टमपछि शव परिवारले घर लगेका छन्।

Attariya Hospital

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भोगिरहेका चौधरीलाई कारागारभित्रकै कैदीबन्दी समूहबीचको झडपमा कुटपिट गरी हत्या गरिएको थियो। कारागारको पुरुष ‘ए’ ब्लकका कैदीबन्दीले भित्तामार्फत प्रवेश गरी ‘बी’ ब्लकमा रहेका चौधरीसहित ४९ जना कैदीमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते चौधरीलाई सेती प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। मृतककी छोरी अहिले कक्षा ८ मा अध्ययनरत छन्। धनगढी उपमहानगरपालिकाले उनको शिक्षा पूर्ण रूपमा निःशुल्क गराउने र अन्य संघसंस्थामार्फत थप सहयोगको पहल गर्ने प्रतिबद्धता सीडीओ हमालले जनाएका छन्।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

घटनापछि कैदीबन्दीले ४० घण्टासम्म कारागारभित्र कसैलाई प्रवेश गर्न दिएनन्। मानवअधिकार आयोगको रोहबरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रवेश गरी कैदीबन्दीको गणना गरेका थिए।