
धनगढी: सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक सेती प्रादेशिक अस्पताल चार महिनादेखि नेतृत्वविहीन बनेको छ। अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो।


अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा रहेको छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए।
“अध्यक्षले नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो,” उनले भने, “समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका छन्।”
अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ।



















