
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले धनगढी-अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडानको काम अन्तिम चरणमा पुर्याएको छ । नगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा भएको सडक बत्ती जडानको कार्य अन्तिम चरणमा पुगेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले लामो समयदेखी गोदावरी नगरक्षेत्र अन्तर्गत अत्तरिया-धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती बलेन भनेर आलोचना गर्दै आएकामा अब भदौ पहिलो हप्ता सम्म सडक क्षेत्र उज्यालो हुने बताए । उनले गेटादेखि अत्तरियासम्म स्मार्ट सडक बत्ती जडानका लागि सुर्योदय ऊर्जा प्रालिले काम थालेको बताए । सडक बत्ती जडानका लागि तिनपटक ठेक्का प्रक्रियामा जादापनि कागजपत्र नपुगेर रोकिएको र चौथोपटकमा ठेक्कामा गएर काम भएको बताए । नगरप्रमुख भट्टले बत्तिमात्रै आजै जलाउन सकिने भएतापनि अन्य साना केही लाईटहरु जडान गर्न बाँकि रहेकाले सबैकामहरु पुरा गरेर चाँडै यो क्षेत्रमा पनि झिलीमिली हुने बताएका छन् ।


गेटाको ट्राफिक चेक पोष्ट नजिकको चोक र मनहरा पुल नजिक दुई ओटा हाई मास्ट लाइट र अन्य १८३ ओटा स्ट्रीट लाइट जडान गरिदै छन् । २८ मिटरको दूरीमा सडकको मिडियन भागमा पोल राखेर स्ट्रीट लाइटहरू जडान गरिएका छन् । २ करोड ३४ लाख १६ हजार ६ सय ३१ रुपैयाँको लागतमा सम्झौता भई काम अन्तिम चरणमा रहेको छ । जसमध्ये १ करोड ५२ लाख २० हजार ८ सय १० रुपैयाँ गोदावरी नगरपालिकाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो ।
सुर्योदय ऊर्जा प्रालिका अनुसार २ महिना भित्र निर्माणको काम सम्पन्न गर्ने गरी जेठ ९ गतेबाट काम सुरु भएको थियो । यद्यपी ठेक्का अवधि अझै ३ महिना बाँकी रहेको छ । यस बर्ष दशै तिहार अघिनै गोदावरी नगरपालिकामा पर्ने ६ लेन सडक पनि झिलिमिली हुने भएको छ ।
गोदावरी नगरपालिकाले यसअघि मेडियनमा तारजाली लगाईसकेको छ भने बिरुवा रोपेर हरियाली बनाउने काम भईरहेको छ । बिगतका दिनमा सामाजिक सञ्जाल र मिडियामा गोदावरी नगरक्षेत्र अन्तर्गत अत्तरिया–धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती बलेन भनेर निकै आलोचना हुदै आएको थियो । धनगढी झिलीमिली बनेका बेला गोदावरी नगरक्षेत्र अत्तरिया–धनगढी ६ लेन सडक अध्यारो थियो ।

















