
अत्तरिया : २५ औं अन्तर्राष्ट्रिय युवा दिवस कैलालीमा विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । यसै सन्दर्भमा घोडाघोडी नगरपालिका–१०, पहलवानपुरस्थित सहारा युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक पटक रक्तदान गर्ने व्यक्ति तथा रक्तदान सद्भावना दूत दीपक उपाध्यायले आफ्नो ११० औं पटक रक्तदान गरे। क्लबका अध्यक्ष निर्मलकुमार मिश्रका अनुसार, उपाध्यायसहित ५१ जनाले रक्तदान गरे।

त्यसैगरी अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा नेपाली युवा उद्यमी मञ्च धनगढी च्याप्टरले समेत रक्तदान कार्यक्रमको आयोजना गर्यो। मञ्चका अध्यक्ष अच्युत दाहालका अनुसार, सो कार्यक्रममा १५ जनाले रक्तदान गरे। रक्तदान क्षेत्रमा उल्लेखनीय र सकारात्मक भूमिका निर्वाह गर्दै ११० औं पटक रक्तदान गरेका उपाध्यायलाई सहारा क्लब पहलवानपुरले सम्मान गर्यो। उनलाई घोडाघोडी नगरपालिकाका मेयर खडकबहादुर रावत र क्लबका अध्यक्ष निर्मल मिश्रले प्रशंसापत्र सहित सम्मान गरे।

नेपाली युवा उद्यमी मञ्च धनगढीले पनि उपाध्यायलाई सम्मान गर्यो। मञ्चका अध्यक्ष दाहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले, रक्तदानको क्षेत्रमा अहोरात्र खटिँदै सयौँ पटक रक्तदान गरी रगतको अभावमा रहेका हजारौँको जीवन बचाउन खेलेको भूमिकाको प्रशंसा गर्दै, उनलाई दोहोरो प्रशंसापत्र र नगदसहित सम्मान गरेको मञ्चका प्रथम उपाध्यक्ष आशिष शाहले बताए।

सन १९९८ मा पोर्चुगल सरकारले संयुक्त राष्ट्रसंघको सहयोगमा आयोजना गरेको युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त सिफारिसलाई पछि संयुक्त राष्ट्रसंघको महासभाको ५४औं सत्रले “युवाहरू संलग्न नीतिहरू र कार्यक्रमहरू” शीर्षकको प्रस्ताव १९९९ मा अनुमोदन गरेपछि हरेक वर्ष १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ।
































