
कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पाहुना घर निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ। नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा निर्माण भइरहेको यस पाहुना घरका लागि नगरपालिकाबाट रु. ३ लाख र सामुदायिक वनबाट रु. ७ लाखभन्दा बढी खर्च भएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए।

उनका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घरमा प्रत्येक कोठामा दुई शय्या र आवश्यक पूर्वाधारको व्यवस्था हुनेछ। “दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” चौधरीले भने। निर्माणपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्कमा बासको सुविधा उपलब्ध गराइनेछ।
पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकार पस्किने योजना रहेको छ। साथै, थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषा, नृत्य प्रदर्शनलगायत सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मनोरञ्जन दिने तयारी गरिएको छ। पाहुना घर सञ्चालनका लागि आवश्यक कार्यविधि पनि तयार भएको अध्यक्ष चौधरीले बताए।


सिंहपुर सामुदायिक वनमा भ्यू टावर, पिकनिक स्थल, ६ हेक्टर क्षेत्रफलमा सालको पुनःउत्पादन प्लट, १६ कट्ठाको पोखरीमा डुङ्गा सयरजस्ता सुविधा उपलब्ध छन्। यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
यससँगै सामुदायिक वनसँग जोडिएको सिंहपुरको पुरानो थारु बस्तीका १० घरमा होमस्टे सञ्चालन गर्ने योजना पनि छ। चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए।
कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न पाहुना घर निर्माणलाई शीघ्र सम्पन्न गरिने बताए। वडा कार्यालयले यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

















