
प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा कैलालीका स्थानीयले बहिष्कार गरेका छन्। समितिले गुर्गी सिँचाइ आयोजना पुनःनिर्माण ढिलाइसम्बन्धी कार्यक्रम शुक्रबार कैलारी गाउँपालिका–५ बैजपुरमा आयोजना गरेको थियो।

कार्यक्रम समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा भएको थियो। तर, वर्षेनी बजेट विनियोजन हुँदै आए पनि सिँचाइ आयोजना पुनःनिर्माण नहुँदा आक्रोशित स्थानीयले सुनुवाइमा भाग नलिएको जनाइएको छ।
स्थानीयको बहिष्कारपछि समितिका सदस्य तथा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्रबहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादी सांसद शिवसिंह ओली र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी बोल्न नपाई फर्किएका थिए।


५० को दशकमा बनेको गुर्गी सिँचाइ आयोजनाको मूल नहरको बाँध भत्किएपछि संघीय सरकारले २०६४ सालदेखि पुनःनिर्माणका नाममा बजेट छुट्याउँदै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आयोजनाका लागि बजेट विनियोजन गर्ने गरे पनि काम अघि नबढ्दा स्थानीयमा असन्तोष बढेको हो।
स्थानीयको बहिष्कारबारे सभापति घनश्याम चौधरीले जनताको कुरा सुन्ने उद्देश्यसहित आएको कार्यक्रममा यस्तो व्यवहार गर्नु उचित नभएको बताए। उनले वर्षौँदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयोजनाको पुनःनिर्माणबारे समितिमा थप छलफल गरी सरकारलाई निर्देशन दिने प्रतिबद्धता जनाए।
































