
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको वार्तालाई सकारात्मक र उपलब्धिमूलक भनेका छन् । तर, उनले उक्त छलफलमा कुनै ठोस सम्झौता नभएको स्पष्ट पारेका छन् ।

करिब तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले युद्ध अन्त्यका सम्भावनाबारे आशावादी टिप्पणी गरे पनि विस्तृत विवरण दिएका छैनन् ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता भइरहेको बेलामा पनि रुसी आक्रमण जारी रहेकाले युक्रेनमा नागरिकको ज्यान गइरहेको आरोप लगाए ।


पुटिनले युद्धको वास्तविक कारण पहिचान गर्नुपर्ने आवश्यकता औंल्याउँदै, शान्ति प्रक्रियामा युक्रेन र युरोपेली मुलुकले बाधा नपुर्याउन चेतावनीसमेत दिएका छन् । उनका अनुसार, यो बैठक शान्ति स्थापनाको लागि प्रारम्भिक कदमका रूपमा रहनेछ ।
ट्रम्पले वार्तामा धेरै बुँदामा समझदारी भए पनि अझै केही विषयमा मतैक्य कायम हुन बाँकी रहेको बताए । उनले विवरण सार्वजनिक नगरे पनि यसबारे जेलेन्स्की र युरोपेली नेतालाई जानकारी दिने उल्लेख गरेका छन् ।
ट्रम्पले पुटिनसँग पुनः भेट्ने अपेक्षा व्यक्त गर्दै आगामी भेटवार्ता सम्भवतः मस्कोमै हुन सक्ने बताएका छन् ।
















