कञ्चनपुरबाट सुरु भएको रक्तचन्दन खेती सुदूरपश्चिमका पहाडी जिल्लामा विस्तार, किसानलाई करोडपतिको सपना

Image
Nisarga Hospital

पश्चिम तराईको कञ्चनपुरमा सुरु भएको रक्तचन्दन र श्रीखण्डको नर्सरी तथा व्यावसायिक खेती अब सुदूरपश्चिमका पहाडी जिल्लामा समेत विस्तार हुन थालेको छ। स्थानीय व्यवसायीहरूको पहलमा स्थापना भएको नेपाल चन्दन प्रालिले हाल नर्सरीमार्फत बिरुवा उत्पादनसँगै व्यावसायिक खेती विस्तारमा जोड दिएको हो।

CP Hospital Dhangadhi

चन्दन व्यवसायी विजयराज पन्तले २०७३ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भासीमा पहिलो पटक ८ कठ्ठा जमिन लिजमा लिएर साझेदारीमा नेपाल चन्दन प्रालि स्थापना गरेका थिए। प्रारम्भिक चरणमा रोपिएका १०३ रुख अहिले हुर्किरहेका छन्। वन विभागबाट नौ वर्षमै कटान गर्ने अनुमति लिए पनि विज्ञहरूले १८ वर्षपछि मात्रै भित्री चुरो काठ तयार हुने बताएपछि उनले थप पर्खनुपर्ने अवस्था आएको छ।

व्यवसाय विस्तार
तीन वर्षअघि पन्तले दोस्रो चरणमा १ बिघा जमिनमा ४ सय श्रीखण्ड, ४ सय रक्तचन्दन र अगरउडसहित ८ सय बिरुवा रोपे। यसपटक जमिन उचो भएकाले बिरुवा राम्रोसँग हुर्किरहेको उनले बताए। भारतको कर्नाटक र आन्ध्र प्रदेशबाट बीउ ल्याएर नर्सरीमा उत्पादन गरिएका बिरुवाहरू व्यावसायिक खेतीमा प्रयोग भइरहेका छन्।

nawajiwan

पन्तले बिरुवा उत्पादनदेखि रोपाइँ र कटानसम्मको दीर्घकालीन योजना बनाएका छन्। तर लामो अवधिका लागि लिज वा साझेदारीमा जमिन पाउन कठिनाइ भएपछि नयाँ मोडालिटीमार्फत व्यवसाय विस्तार गर्ने तयारीमा छन्।

नयाँ मोडालिटी : किसानसँग सहकार्य
यस वर्षदेखि डडेलधुरा, बैतडी, डोटी र बझाङका स्थानीय किसानसँग सहकार्यमा रक्तचन्दन खेती विस्तार गर्ने योजना कम्पनीको छ। इच्छुक किसानलाई निःशुल्क बिरुवा, ढुवानी, प्राविधिक सहयोग उपलब्ध गराइनेछ। कटानपछि उत्पादित चन्दनको नाफा कम्पनी र किसानबीच बाँडिने सहमति हुनेछ।

Attariya Hospital

आर्थिक सम्भावना
पन्तका अनुसार एक परिपक्व श्रीखण्ड वा रक्तचन्दनको रुखबाट २०–२५ किलोसम्म भित्री चुरो काठ उत्पादन हुन्छ, जसको मूल्य हालको बजारमा कम्तीमा १ लाख रुपैयाँसम्म पुग्छ। एक किसानले १ सय रुख रोपेमा १५–१८ वर्षभित्र करिब १ करोड आम्दानी गर्ने सम्भावना हुन्छ।

हालसम्म पन्तले आफ्नै नर्सरीबाट करिब १५ हजार बिरुवा बिक्री गरिसकेका छन्। खुद्रामा प्रतिबोट २ सय र थोकमा १ सय ५० मा बिक्री भइरहेको छ। आगामी असोजसम्म बिक्री संख्या २० हजार नाघ्ने अनुमान गरिएको छ।

चुनौती र बजार
बैंकहरूले लामो अवधिसम्म धितोमा लगानी नगर्दा व्यवसाय विस्तारमा चुनौती रहेको पन्त बताउँछन्। तथापि, खेतबारीको खाली जग्गामा केही बिरुवा मात्रै रोप्दा पनि किसानले भविष्यमा ठूलो आम्दानी गर्ने अवसर हुने उनको दाबी छ।

नेपालमा चन्दन प्रशोधन गर्ने उद्योग झापामा सञ्चालनमा रहेको कुलायन नेचुरल हर्बल प्रालि हो, जहाँबाट उत्पादित तेल अमेरिका, फ्रान्स र जर्मनी निर्यात भइरहेको छ। प्युठान, बझाङको जुहु सामुदायिक वनलगायत देशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा श्रीखण्ड र रक्तचन्दन पाइन्छ।

पन्तका अनुसार ५ देखि ४५ डिग्री सेल्सियस तापक्रममा तराईदेखि पहाडी बेँसीसम्म चन्दन उत्पादन गर्न सकिन्छ। रोप्नलायक बिरुवा कम्तीमा ८ महिनाको र ३५ सेन्टिमिटर उचाइको हुनुपर्ने प्राविधिक मापदण्ड रहेको छ।

Advertize US