
भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग सीमाना जोडिएको डोके बजार पछिल्लो समय अपराधिक क्रियाकलापको केन्द्र बन्दै गएको छ। स्थानीयबासीले सीमा क्षेत्रको अव्यवस्थाले अपराध, लागुऔषधको दुरुपयोग, यौनजन्य गतिविधि र अवैध सामानको ओसार–पसार बढाएको गुनासो गरेका छन्।


प्रहरी चौकी पचकडिया–परासन–अमरवस्ती कञ्चनपुरले सो क्षेत्रमा निगरानी कडा बनाएको छ। प्रहरी नायब निरीक्षक नैनसिंह कार्की का अनुसार, होटल व्यवसायमाथि विशेष निगरानी राखेर यौनजन्य क्रियाकलाप रोकथामका लागि सचेतना र निगरानी अभियान सञ्चालन गरिएको छ।
एक महिनाभित्रै डोके बजार प्रहरीले करिब १२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाएको छ। यद्यपि, सीमा नाकाबाट हुने अवैध कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउन अझै चुनौती रहेको प्रहरीले जनाएको छ।
स्थानीय र प्रशासनको संयुक्त प्रयासले यस क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको छ।
































