अछामको साँफे–मेल्लेख सडक आठ महिना देखि अलपत्र, ठेकेदार सम्पर्कविहीन

Image
Nisarga Hospital

अछाम: साँफेबगर–मेल्लेख जोड्ने प्रमुख सडक स्तरोन्नतिको काम आठ महिनादेखि अलपत्र परेको छ। ठेक्का पाएको ललितपुर इमाडोलस्थित नाति कन्स्ट्रक्सन प्रालिका ठेकेदार सम्पर्कविहीन भएपछि सडक निर्माण अधुरै छोडिएको हो।

CP Hospital Dhangadhi

साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकालाई जोड्ने यो सडक स्तरोन्नति नहुँदा वर्षायाममा स्थानीयले कच्ची बाटोमै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। सडकमा नालीको उचित व्यवस्थापन नभएकाले पानी बगेर घरमा पस्ने समस्या देखिएको छ। यसै कारण पाँच घर उच्च पहिरो जोखिममा परेको स्थानीय हिरिन्डबहादुर कुँवरले बताए।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजनाअन्तर्गत सुरु गरिएको यो आयोजना २०७९ सालदेखि कार्यान्वयनमा आएको हो। तर, ठेकेदारले “लगानीका लागि रकम छैन” भन्दै बारम्बार काम पन्छाइरहेको पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी इन्जिनियर देवीप्रसाद उपाध्यायले बताए। उनले भने, “हामीले कार्यालयको तर्फबाट कुनै कमी गरेका छैनौँ। ठेकेदारलाई पटक–पटक काम सुरु गर्न ताकेता गरेका छौँ।”

nawajiwan
Attariya Hospital

कार्यालयका अनुसार अधुरो कामका लागि २०८३ असार मसान्तसम्म म्याद थप गरी करिब १ करोड ५० लाख रुपैयाँ रकमान्तर गरिएको छ। तर, नाति कन्स्ट्रक्सनले विभिन्न बहाना बनाउँदै कार्यालयसँग सम्पर्कसमेत नगरेको उपाध्यायले जानकारी दिए। अहिलेसम्म कम्पनीले ११ करोड १० लाख ४२ हजार ६२६ रुपैयाँ भुक्तानी भइसकेको छ।

निर्माण कार्यको ८३.६१ प्रतिशत मात्रै सम्पन्न भएको छ। केही नाली व्यवस्थापन र मेसिनरी काम बाहेक सडक स्तरोन्नति प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ। नाली र ह्युमपाइप नराख्दा वर्षायाममा निर्माणाधीन सडक समेत भत्किँदै गएको छ।

साँफेबगर नगरप्रमुख राजेन्द्र बहादुर कुँवरका अनुसार कम्पनीका सञ्चालक ज्ञानेश महर्जनले कार्यालयको फोनसमेत नउठाउने र बारम्बार ताकेता गर्दा पनि अटेर गर्ने गरेका छन्। उनले भने, “निर्माणाधीन सडक वर्षायाममा अझ बढी जोखिमपूर्ण बनेको छ। ठेकेदारको गैरजिम्मेवारीले स्थानीयले ठूलो सास्ती व्यहोर्नु परेको छ।”