
डेउडा प्रतिष्ठानले आज सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसरमा आज सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्का मार्फत प्रदेश सरकारलाई ‘ओल्को’ प्रदान गरेको छ ।

डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’को नेतृत्व प्रतिष्ठानका पदाधिकारी सहितको टोलीले शाब्दिक शब्दसहितको ओल्को प्रदान गरेको हो । ओल्को को रुपमा गाभा,पिडालु लगायत फलफुल सहित प्रदेश सरकारलाई ५ बुदे माग सहितको शाब्दिक ओल्को समेत हस्तान्तरण गरिएको संस्थाका उपमहासचिव प्रेमबिबश चन्दले बताउनु भयो ।

श्रष्टाको हकहितका निम्ति श्रष्टा कल्याणकारी कोषको स्थापना ,प्रादेशिय संगीत सेन्सरबोर्डको स्थापना , प्रादेशिय भाषा आयोगको स्थापना,प्रादेशिय प्रज्ञा प्रतिष्ठानमा संशोधित ऐन बमोजिम तत्काल पदाधिकारी चयन, सांस्कृतिक संग्रहालयको स्थापना लगायतका बुदाँ सहितको शाब्दिक ओल्को हस्तान्तरण गरिएको संस्थाका सचिव बिष्णु भक्त खैरले बताउनु भयो ।

प्रदेश सरकारलाई शाब्दिक ओल्को हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष डोटेली कान्छाले ओल्को सहित ५ बुदे माग पनि पढेर सुनाउनु भएको थियो । प्रदेश सरकारले यी कार्यान्वयन गरिदिएको खण्डमा हामी हाम्रा सम्पूर्ण स्रष्टाहरूलाई हाम्रा अभिभावकले दिनुभएको प्रत्युपहार सम्झने छौं भनेर भन्नु भएको थियो ।
ओल्के पर्वमा ‘ओल्को’ बोकेर मान्यजनको दर्शनभेट, आशीर्वाद ग्रहण तथा विपद्कालमा बाँचेको खुसियालीमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विपद्कालमा बाँचेकै खुसियालीमा परापूर्वकालदेखि नै हरेक वर्ष भदौ एक गतेको सुदूरपश्चिमेलीहरुले ओल्के पर्व मनाउँदै आएका छन् ।
जानकारहरूका अनुसार परापूर्वकालमा वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समय मानिन्थ्यो । जुन समयमा बाढीपहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलने सम्भावना उच्च हुन्छ । यस्तो संकटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सक्रान्तिमा बिशु मनाउने र बाँचेको खुसियालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ ।



















