
कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दिपेन्द्र जोशीको शव खुटिया खोलामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी रण बहादुर चन्दका अनुसार, जोशी सोमबार दिउँसो घरबाट खाना खाएर निस्केका थिए। उनी बेलुकीसम्म घर नफर्किएपछि उनका बुवा पुष्पराज जोशीले प्रहरीमा खबर गरेका थिए।

प्रहरीका अनुसार, दिउँसो दिपेन्द्र आफ्ना साथीहरूसँग गोदावरी–८ खुटिया खोलामा नुहाउन गएका थिए। सोही क्रममा उनी हराएको तथ्य राति अबेरमा उनका साथीहरूले खुलाएका थिए। खोजतलासका क्रममा खोलामै उनले लगाएको “Nike” लेखिएको कालो चप्पल फेला परेको थियो। तर, राति अबेरसम्म दिपेन्द्र भेटिएका थिएनन्।

प्रहरीको खोजतलासपछि सोमबार बिहान करिब ६:३८ बजे खुटिया खोला पुलमुनि उनको शव फेला परेको हो। घटनास्थलमै थप अनुसन्धान भइरहेको र पोस्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल पठाइने डिएस्पी चन्दले जानकारी दिएका छन्।






























