
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सोमबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दैछन्। फेब्रुअरीमा प्रत्यक्ष टेलिभिजनमै भएको उनीहरूको वादविवाद अमेरिक–युरोप सम्बन्धका लागि नाजुक क्षण बनेको थियो। यसपटक पनि त्यस्तै परिस्थितिको पुनरावृत्ति हुने अनुमान गरिएको छ।

अलास्का समिटपछि ट्रम्प भ्लादिमिर पुटिनप्रति अझ मोहित भएका देखिएका छन्। भेटमा उनले पुटिनले सुझाएको शान्ति योजना अघि सार्ने सम्भावना छ, जुन प्रस्तावलाई युक्रेनले अस्वीकार गर्न सक्छ। पुटिनले दोनेस्क र लुहान्स्क क्षेत्रमा युक्रेनले नियन्त्रण त्याग्नु पर्ने र सेनाको क्षमता घटाउनु पर्ने माग राखेको बताइएको छ।
जेलेन्स्की भने आफ्नो भूमि बुझाउने सम्झौता गरेर ‘इतिहासमा कलंकित’ हुन चाहँदैनन्। तर, युद्ध जारी राख्न अमेरिकाको सहयोग आवश्यक छ। यही कारण उनी यसपटक युरोपेली नेताहरूको लस्करसहित ह्वाइट हाउस पुगेका छन्। उनका साथमा बेलायती प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयन, फिनल्यान्डका अलेक्जेन्डर स्टब र नेटो महासचिव मार्क रुट छन्।


विश्लेषकहरूका अनुसार ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न लगाउन गाह्रो भए पनि सम्भावना भने रहन्छ, किनभने उनी प्रायः अन्तिममा भेटेका व्यक्तिको विचारबाट प्रभावित हुने प्रवृत्ति राख्छन्। यसपटक जेलेन्स्की र उनका युरोपेली साथीहरूको प्रयास त्यसैमा केन्द्रित हुनेछ।
युरोपेली नेताहरूका लागि यो ऐक्यबद्धताको मात्र कुरा होइन, उनीहरूको आफ्नै सुरक्षा पनि दाउमा परेको छ। ट्रम्पले सुरक्षा ग्यारेन्टी र भूमिसाटासाटको संकेत दिँदा आगामी छलफल त्यही विषयमा केन्द्रित हुने देखिन्छ।
जेलेन्स्कीले भूमिमाथिको दाबी त्याग्ने सम्भावना न्यून छ। तर, बलियो सुरक्षाको ग्यारेन्टी अमेरिकाबाट पाएमा मात्र उनी सम्झौता गर्न तयार हुन सक्ने आकलन गरिएको छ। एजेन्सी

















